रौतहट २६ साउन। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ घर भएका अन्दाजी ५० वर्षीय सउरु चौधरी रहेका छन्।
सोमवार राति करिब ९ बजे पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्सा क्षेत्रबाट उनलाई १०५ किलो लागूऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका चौधरीलाई नियन्त्रणमा लिएर जाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद गाँजा नियन्त्रणमा लिएर पक्राउ परेका चौधरीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाको विषयमा गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजान लागिएको थियो तथा कारोबारमा अन्य व्यक्तिको संलग्नता छरछैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
ठूलो परिमाणमा गाँजा बरामद भएपछि यस घटनालाई प्रहरीले लागूऔषध ओसारपसारसँग जोडेर अनुसन्धान अघि बढाएको छ।

