नेपाली प्रविधि कम्पनी ‘सोसयर’ लाई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणीकरण

न

काठमाडौं, ८ असाेज । नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड ‘आईएसओ/आईईसी २७००१:२०२२’ प्रमाणीकरण प्राप्त गरेको छ।

ग्राहक सम्बन्ध व्यवस्थापन (सीआरएम), ओम्नीच्यानल सञ्चार, सामाजिक सञ्जाल व्यवस्थापन, ई-कमर्स, टिकटिङ, कल तथा अटोमेसनलगायतका सेवा प्रदान गर्दै आएको सोसयरले सूचना सुरक्षाका क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणाली कार्यान्वयन गरेको जनाएको छ।

कम्पनीका अनुसार यो प्रमाणीकरणले ग्राहक तथा साझेदारका सूचना र डिजिटल सम्पत्तिको सुरक्षा, अनधिकृत पहुँच एवम् सूचना चुहावटको जोखिम न्यूनीकरण र सुरक्षा घटना व्यवस्थापनका लागि व्यवस्थित प्रणाली स्थापित भएको प्रमाणित गर्छ।

सोसयरका प्रमुख नीरज वैद्यले यो प्रमाणपत्र केवल एक उपलब्धिमा मात्र सीमित नरहेको बताए। “यो हाम्रा ग्राहक र साझेदारहरूले हामीमाथि राख्नुभएको विश्वासप्रतिको जिम्मेवारी हो। हामी सूचना सुरक्षालाई संस्थागत संस्कृति र दैनिक कार्यप्रणालीको अभिन्न अङ्गका रूपमा लिन्छौँ,” उनले भने।

विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको सोसयरले ‘सोसयर कनेक्ट’, ‘सोसयर कमर्स’ र ‘सोसयर एसएमएस’ मार्फत ग्राहक सेवा, सीआरएम, ई-कमर्स, एसएमएस, रिपोर्टिङ तथा व्यावसायिक कार्य व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

आईएसओ प्रमाणीकरणसँगै ग्राहकको सूचना सुरक्षा, जोखिम व्यवस्थापन, व्यावसायिक निरन्तरता तथा नियामकीय पालनाप्रतिको प्रतिबद्धता थप सुदृढ र संस्थागत भएको कम्पनीले जनाएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।