ललितपुर, १५ वैशाखः ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’ दिनका अवसरमा भोलि बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।
रथको टुप्पोबाट नरिवल खसाल्ने तिथि वैशाख १६ गते बुधबार परेकाले सो दिन महानगरवासी जात्रामा सहभागी हुने भएकाले महानगरपालिका तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।
ललितपुरको पुलचोकमा ३२ हात अग्लो रथमा रातो मच्छिन्द्रनाथलाई विराजमान गराई गत वैशाख ८ गतेदेखि रथ तान्ने कार्य सुरु गरिएको थियो । रथलाई गाःबहाल, मङ्गलबजार, सुनधारा हुँदै लगनखेल पु¥याइएपछि बलि पूजा सम्पन्न गरी भोलिपल्ट रथको टुप्पोबाट नरिवल खसाल्ने परम्परा रहँदै आएको छ ।
धार्मिक परम्परा र संस्कृतिको सम्मानका साथ महानगरपालिकाले तीन वर्षअघि देखि ‘नरिवल खसाल्ने’ दिनलाई स्थानीय बिदाका रूपमा घोषणा गर्दै आएको प्रमुख महर्जनले बताउनुभयो ।
रथजात्राअन्तर्गत लगनखेल क्षेत्रमा हुने ‘नरिवल खसाल्ने’ परम्परा धार्मिक आस्था र सांस्कृतिक महत्त्वसँग जोडिएको छ । यस दिन नगरवासीको उल्लेख्य सहभागिता रहने भएकाले सार्वजनिक उपस्थिति व्यवस्थापन तथा परम्पराको सम्मानस्वरूप बिदा दिइएको महानगरपालिकाले जनाएको छ ।
