पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडास्थित मर्दी हिमालको ट्रेकिङमा जाने क्रममा जंगलमा अलपत्र परेका तीन युवाको सकुशल उद्वार गरिएको छ ।
सोही जिल्लाको पोखरा महानगरपालिका–१४ खसीबजार बस्ने २४ वर्षीय अजित जि.सी., २३ वर्षीय युकेश गुरुङ र २६ वर्षीय करण लामा साउन १९ गते सम्पर्क बिहिन भएका थिए । ट्रेकिङमा हिडेका उनीहरू सम्पर्क बिहिन भएपछि नेपाली सेना, नेपाल प्रहरी तथा बादलडाँडास्थित होटल व्यवसायीसहितको टोलीले उनीहरुको खोजीकार्य गरेको थियो ।
सो पश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्तसहितको टोलीले उनीहरुको खोजीकार्य गर्ने क्रममा साउन २० गते साँझ सोही जिल्लाको अन्नपुर्ण गाउँपालिका–११ छुमरुङ फेदीस्थित मोदी खोलाको पारीपट्टिको जंगलमा फेला पारेको थियो ।
सोही दिन उनीहरुलाई रोप रेस्क्यु विधिद्धारा उद्धार कार्य शुरु गरिएकोमा अविरल वर्षाको कारण मोदी खोलामा पानीको बहाव बढेपछि उद्धार कार्य स्थगित भएपश्चात पुनः विहिबार बिहान सो टोलीले सोही ठाउँमा रहेको बिजुली पोलको तार प्रयोग गरी उनीहरु भएको ठाउँमा पुगेर रोपको बेश बनाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

