पाकिस्तानको ब्याटिङ प्रशिक्षकमा माइकल स्मिथ नियुक्त

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर माइकल स्मिथलाई पाकिस्तान पुरुष राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ । ४६ वर्षीय स्मिथले टेस्ट र सीमित ओभर दुवै ढाँचामा टोलीसँग काम गर्नेछन् । उनी दुई वर्षका लागि नियुक्त भएका हुन् ।

स्मिथले सन् २००३ देखि २०१३ सम्मको खेल जीवनमा ८९ प्रथम श्रेणी, ७२ एकदिवसीय र १६ टी-२० खेल खेलेका थिए । दायाँहाते ब्याटर उनले तीनै ढाँचामा गरी सात हजार २९ रन बनाएका छन् । यस क्रममा उनले नौ शतक र ४० अर्धशतक प्रहार गरेका थिए ।

प्रशिक्षणतर्फ चौथो तहको मान्यता प्राप्त योग्यता हासिल गरेका स्मिथले पाकिस्तान सुपर लिगका इस्लामाबाद युनाइटेड, कराँची किङ्स र मुल्तान सुल्तान्सको प्रशिक्षक समूहमा काम गरिसकेका छन् । उनले अस्ट्रेलियाको होबार्ट हरिकेन्स र क्रिकेट तास्मानियामा पनि ब्याटिङ प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । साथै दक्षिण अफ्रिकाको क्वाजुलु–नाटाल इनल्यान्ड र इस्टर्न प्रोभिन्ससँग परामर्शदाता प्रशिक्षकका रूपमा पनि काम गरेका छन् ।

स्मिथ आगामी अगस्ट १९ देखि सुरु हुने इंग्ल्यान्डविरुद्धको तीन खेलको टेस्ट सिरिजअघि पाकिस्तान टोलीसँग जोडिने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।