रोनाल्डोको जर्जियासँग १० बर्ष पछि बिबाह, रोजे गृह नगर

2026-8-3 / 2083-04-18 4:12 pm

काठमाडौं, १७ साउन । क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको बहुप्रतिक्षित विवाह अन्ततः नजिकिँदै गरेको देखिन्छ ।

विभिन्न समाचारहरूका अनुसार यो जोडीले पोर्चुगलको मदेइरा टापुमा विवाह गर्ने योजना बनाइरहेका छन्, जहाँ यी फुटबल हस्तीको जन्म र हुर्काइ भएको थियो।

यद्यपि रोनाल्डो वा जर्जिना कसैले पनि विवाहको मिति वा स्थानबारे आधिकारिक रूपमा पुष्टि गरेका छैनन् तर बेलायती सञ्चारमाध्यमहरूका अनुसार यो समारोह ८ अगस्टमा हुने अनुमान गरिएको छ। यस अनुमानले खेलकुद र मनोरञ्जनको दुनियाँमा ठूलो चर्चा पाएको छ।

द सनका अनुसार यो जोडीले मदेइराको राजधानीस्थित ऐतिहासिक ‘फन्चल क्याथेड्रल’मा विवाह गर्नेछन र त्यसपछि पाँच तारे  होटद ‘साभोय प्यालेस होटल’मा भव्य भोजको आयोजना गर्नेछन्।


उक्त विलासी होटलका पाहुनाहरूलाई एउटा निजी कार्यक्रमका कारण शुक्रबार र शनिबार होटलका दुई तला तथा केही बार क्षेत्रहरू बन्द रहने जानकारी गराइए पछि यसबारेका चर्चा परिचर्चाले थप गति लिएका छन्। यस्ता असामान्य प्रतिबन्धहरूले कडा सुरक्षा व्यवस्थाका बीच त्यहाँ कुनै उच्च स्तरीय विवाहको तयारी भइरहेको हुन सक्ने अड्कलबाजीलाई बढावा दिएका छन्।

रोनाल्डोका लागि मदेइराको विशेष महत्त्व छ। फुन्चलमा जन्मिएर हुर्केका पोर्चुगलका कप्तानले यसै टापुबाट आफ्नो फुटबल यात्रा सुरु गरेका थिए र पछि गएर खेलको इतिहासमै सर्वोत्कृष्ट खेलाडीहरूमध्ये एक बन्न सफल भए। विवाह समारोहका लागि आफ्नो गृह नगर रोज्नु उनको व्यक्तिगत जीवनमा एउटा प्रतीकात्मक र अर्थपूर्ण क्षण हुनेछ।

पोर्चुगिज सञ्चारमाध्यमहरूले यसअघि नै जनाएअनुसार रोनाल्डो र जर्जिना सन् २०२६ को फिफा विश्वकपपछि मदेइरामा विवाह गर्ने योजनामा ​​छन् । यसका लागि फन्चल क्याथेड्रललाई विवाह स्थलका रूपमा र सोही टापुको कुनै एक विलासी होटललाई उत्सव आयोजना गर्ने स्थानका रूपमा हेरिएको छ।

सन् २०१६ मा पहिलो पटक भेट भएका रोनाल्डो र जर्जिनाको सम्बन्ध छिट्टै नै फुटबल जगतको सबैभन्दा चर्चित प्रेम सम्बन्ध मध्ये एक बन्न पुग्यो। अगस्ट २०२५ मा जर्जिनाले ठूलो हिराको औंठी लगाएको तस्बिर सार्वजनिक गर्दै आफ्नो इन्गेजमेन्टको पुष्टि गरेकी थिइन् भने पछि रोनाल्डोले विवाहको प्रस्ताव राख्ने निर्णयमा आफ्ना छोरीहरूको पनि भूमिका रहेको खुलासा गरेका थिए। यो जोडीले सँगै पाँच सन्तानको हेरचाह गरिरहेको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।