आन्द्रा-भुँडीमा मात्रै आक्रमण गर्ने रहस्यमय बन्यजन्तुका कारण रौतहटमा त्रास

सञ्जय मिश्रा
रौतहट, १७ साउन। रौतहटका गरुडा नगरपालिका, ईशनाथ नगरपालिका र दुर्गा भगवती गाउँपालिकामा पछिल्लो एक महिनादेखि अज्ञात वन्यजन्तुले घरपालुवा पशुमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ।

लगातार बाख्रा तथा अन्य पशु चौपाया मारिन थालेपछि डिभिजन वन कार्यालय, रौतहटले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

डिभिजन वन कार्यालयका प्रमुख मनोजकुमार ठाकुरद्वारा जारी सूचनाअनुसार सबैभन्दा बढी घटना गरुडा नगरपालिका-१ जयनगर क्षेत्रमा देखिएको छ। त्यहाँ अज्ञात वन्यजन्तुले रातको समयमा खोरमै प्रवेश गरी बाख्रालाई आक्रमण गर्ने, विशेषगरी आन्द्रा–भुँडी लगायत शरीरका विभिन्न अंगमा क्षति पुर्‍याएर मार्ने गरेको पाइएको छ।

यस्तै पछिल्ला दुई–तीन दिनयता ईशनाथ नगरपालिका–१ र ३ मा पनि उस्तै प्रकृतिका घटना भएको वन कार्यालयले जनाएको छ। दुर्गा भगवती गाउँपालिकाका विभिन्न वडाबाट समेत यस्तै आक्रमणका सूचना प्राप्त भएको कार्यालयको भनाइ छ।

घटनाको वास्तविकता पत्ता लगाउन डिभिजन वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटीएनसी०, सौराहासँग समन्वय गरेर प्राविधिक टोली परिचालन गरेको छ। टोलीले प्रभावित क्षेत्रमा निरन्तर निगरानी र खोजी कार्य गरिरहेको भए पनि हालसम्म आक्रमण गर्ने वन्यजन्तुको पहिचान हुन सकेको छैन।

वन कार्यालयले जनावर नियन्त्रणमा नआएसम्म गरुडा, ईशनाथ, दुर्गा भगवती तथा आसपासका क्षेत्रका स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। रातको समयमा एक्लै बाहिर ननिस्कन, बालबालिका तथा ज्येष्ठ नागरिकलाई अनावश्यक रूपमा घरबाहिर जान नदिन, घरपालुवा पशु सुरक्षित र बलियो खोरमा राख्न तथा खोर वरिपरि पर्याप्त उज्यालोको व्यवस्था गर्न सुझाव दिइएको छ।

त्यस्तै घर तथा पशुखोर वरिपरिका झाडी र फोहोर सफा राख्न, गन्ध आउने माछा, मासु वा अन्य फोहोर खुला स्थानमा नराख्न तथा कुनै वन्यजन्तु देखिएमा त्यसलाई लखेट्ने वा समात्ने प्रयास नगरी तत्काल सम्बन्धित निकायलाई खबर गर्न पनि कार्यालयले अनुरोध गरेको छ।

यदि घरपालुवा पशुमाथि आक्रमण भएको खण्डमा घटनास्थलका पदचिह्न, रगत, कपाल, दिसा वा अन्य प्रमाण नष्ट नगरी सुरक्षित राख्न र तत्काल वन कार्यालयलाई जानकारी गराउन आग्रह गरिएको छ।

वन्यजन्तुको पहिचान र नियन्त्रणका लागि प्राविधिक टोली निरन्तर फिल्डमा खटिएको जनाउँदै कार्यालयले अर्को सूचना जारी नभएसम्म प्रभावित क्षेत्रका सबै स्थानीयलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

वन्यजन्तु देखिएमा वा कुनै अप्रिय घटना भएमा डिभिजन वन कार्यालय, रौतहट वा सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी दिन तथा वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरणका लागि गठित र्‍यापिड रेस्पोन्स टिमका संयोजक वन अधिकृत अनिलकुमार महतोको मोबाइल नम्बर ९८५७६२९९०० मा सम्पर्क गर्न वन कार्यालयले आग्रह गरेको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।