रौतहटमा सर्वदलीय बैठक, धार्मिक सद्भाव जोगाउन संयुक्त प्रतिबद्धता

सञ्जय मिश्रा

रौतहट, १५ साउन। तराई–मधेशका केही जिल्लामा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाको असर रौतहटमा पर्न नदिन जिल्लाका राजनीतिक दल, प्रशासन र सरोकारवाला पक्ष एकै ठाउँमा उभिएका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको पहलमा बसेको सर्वदलीय बैठकले धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै जिल्लामा शान्ति–सुरक्षा सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेको हो।

जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न बैठकले सुनसरी, सिराहा, धनुषालगायत जिल्लामा भएका घटनाबाट कुनै पनि प्रकारको नकारात्मक प्रभाव रौतहटमा पर्न नदिन सबै पक्षले संयमित र जिम्मेवार भूमिका खेल्ने निर्णय गरेको छ। साथै, धार्मिक वा साम्प्रदायिक भावना भड्काउने तथा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिलाई प्रश्रय नदिने स्पष्ट अडान बैठकले लिएको छ।


बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले रौतहटमा लामो समयदेखि कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचारालाई थप सुदृढ बनाउन आ–आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।


यस्तै, जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न राजनीतिक दल, स्थानीय तह, जनप्रतिनिधि, धार्मिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा नागरिक समाजलाई समन्वयात्मक रूपमा सक्रिय हुन आह्वान गरिएको छ। नागरिकमा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी विश्वास अभिवृद्धि गर्न सबैले आफ्नो–आफ्नो क्षेत्रबाट पहल गर्ने निर्णय पनि बैठकले गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


प्रमुख जिल्ला अधिकारी भुषालका अनुसार रौतहटलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुताको उदाहरणीय जिल्ला बनाउने उद्देश्यका साथ सबै सरोकारवाला पक्षबीच साझा समझदारी कायम गरिएको हो।


बैठकमा सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक अगुवा तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।