सामाजिक सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेका छन् ।

बिहीबार जारी सन्देशमा उनले नेपाल निर्माणको प्रारम्भदेखि नै नेपालीहरू आपसी मेलमिलाप, सद्भाव र भाइचाराका साथ बस्दै आएको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक नेपाली समाजको यही विशेषताले विश्वमा नेपालको पहिचान र सम्मान स्थापित भएको बताएका छन् ।

उनले हरेक समुदायले आफ्नो धर्म, संस्कृति, परम्परा र आस्थालाई सम्मान गर्दै आएको परम्परालाई जोगाइराख्नुपर्ने उल्लेख गर्दै नेपालको मौलिक पहिचान र गौरवमा कसैले पनि खलल पुर्‍याउन नहुने बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी प्रदेश र तराईका विभिन्न क्षेत्रमा फैलिँदा जनजीवन प्रभावित बनेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

नेपाल सामाजिक सद्भाव र सामञ्जस्यका लागि परिचित मुलुक भएको उल्लेख गर्दै उनले यस्ता अवाञ्छित घटना र द्वन्द्व मुलुकको मौलिक मूल्य र मान्यताविपरीत भएको बताएका छन् ।

सन्देशको अन्त्यमा उनले देशका जुनसुकै भूभागमा बसोबास गर्ने सबै नेपालीलाई एकता, सहिष्णुता र आपसी सद्भाव कायम राख्न आग्रह गर्दै अहिलेको आवश्यकता सबै मिलेर अघि बढ्नु नै भएको उल्लेख गरेका छन्।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।