देशको समग्र सुरक्षा अवस्था थप प्रभावकारी बनाउने सुरक्षा परिषदको निर्णय

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ । 

बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । 

बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन १० गते सुनसरीमा भएको घटनाको समीक्षा गर्दै राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको परिषद्का तर्फबाट ब्रिफिङ गरिएको थियो ।

बैठकपछि परिषद्ले जारी गरेको विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने उल्लेख छ । साथै विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खना, अर्थमन्त्री डा स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की र प्रधान सेनापति अशोक सिग्देलको उपस्थिति थियो । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।