काठमाडौँ । अर्बपति व्यवसायी एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले नयाँ वित्तीय सेवा ‘एक्स मनी’ सार्वजनिक गरेको छ । यो सेवामार्फत प्रयोगकर्ताले एकअर्कालाई तत्काल रकम पठाउन सक्नेछन् ।
कम्पनीका अनुसार ‘एक्स मनी’ कुनै नयाँ बैंक भने होइन । यसले क्रस रिभर बैंकको बैंकिङ सेवा र प्रविधिको प्रयोग गर्दै आफ्नै ब्रान्डमार्फत सेवा उपलब्ध गराइरहेको छ । नयाँ बैंक स्थापना गर्न लामो समय र ठूलो लागत लाग्ने भएकाले नयाँ वित्तीय कम्पनीहरूले यस्तै मोडेल अपनाउने गरेका छन् ।
हालका लागि ‘एक्स मनी’ सेवा निमन्त्रणा प्राप्त गरेका प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ । सेवामा आबद्ध प्रयोगकर्ताले एक्सको नाममा जारी हुने भिसा डेबिट कार्ड प्राप्त गर्नेछन्, जसको प्रयोग जुनसुकै एटीएमबाट गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एक्सका प्रयोगकर्ताले यही सेवामार्फत एकअर्कालाई तत्काल रकम पठाउन सक्नेछन् । प्रारम्भिक चरणमा भने एक्सको सशुल्क सदस्यता लिएका प्रयोगकर्तालाई मात्रै निमन्त्रणा पठाइँदै छ । ग्राहक आकर्षित गर्न कम्पनीले खातामा रहेको निक्षेपमा वार्षिक ६ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । साथै, निश्चित खरिदमा ३ प्रतिशत रकम फिर्ता गर्ने सुविधा पनि उपलब्ध गराइएको छ ।
यो ६ प्रतिशत प्रतिफल प्राप्त गर्न ग्राहकले खातामा कम्तीमा एक हजार अमेरिकी डलर जम्मा गरेको हुनुपर्नेछ । त्यसका साथै प्रयोगकर्तासँग एक्सको प्रिमियम सदस्यता पनि हुनुपर्नेछ, जसको न्यूनतम शुल्क प्रतिमहिना ८ अमेरिकी डलर रहेको छ ।
यस आधारमा प्रिमियम सदस्यताको खर्च उठाउन ग्राहकले खातामा कम्तीमा एक हजार ६ सय अमेरिकी डलर राख्नुपर्ने अवस्था रहने बताइएको छ । मस्कले लामो समयदेखि एक्सलाई सामाजिक सञ्जाल मात्र नभई वित्तीय सेवासहित सबै प्रकारका सेवा उपलब्ध हुने एकीकृत मञ्च बनाउने योजना सार्वजनिक गर्दै आएका छन् ।
मस्कले आफ्नो व्यावसायिक यात्रा पनि वित्तीय सेवाबाटै सुरु गरेका थिए। उनले प्रारम्भिक अनलाइन बैंकिङ सेवामध्ये एक एक्स डटकम स्थापना गरेका थिए। पछि उक्त कम्पनी अर्को कम्पनीसँग गाभिएको थियो, जुन अहिले पेपालका रूपमा परिचित छ ।
यद्यपि ‘एक्स मनी’ ले सेवा सुरु गरे पनि यसले निकै प्रतिस्पर्धात्मक बजारमा प्रवेश गरेको छ । अहिले व्यक्ति–व्यक्तिबीच रकम स्थानान्तरण गर्ने सेवामा भेन्मो, जेल र क्यास एपजस्ता सेवाहरूको बलियो उपस्थिति रहेको छ ।

