सुनसरीमा दुई समूहबिच झडप: प्रहरीको गोली लागेर एक जनाको मृत्यु

विराटनगर । सुनसरीको कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन् ।

सुनसरी प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ गएराती चिकित्सकले मृत घोषणा गरेका थिए ।

​दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै झडप र हिंसामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ । घटनामा अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको विराटनगरका न्युरो, विराट नर्सिङ र नोबेल मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार भइरहेको छ । 

साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान युवाहरूको एउटा समूह डिजे बजाउँदै तयारी गरिरहेको बेला अर्को समूहले रातिको समयमा होहल्ला र अवरोध पुगेको भन्दै आपत्ति जनाएपछि दुई पक्षबीच विवाद भएको स्थानीयले बताएका छन् । सामान्य विवाद बढ्दै गएपछि दुवै पक्ष आक्रमण र तोडफोडमा उत्रिएका थिए ।

स्थिति थप हिंसात्मक बन्दै गएपछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थिति तत्काल नियन्त्रणमा लिन बल प्रयोग गर्ने निष्कर्ष निकालेको बताइएको छ । सुरक्षकर्मीको व्यापक परिचालन पछि सुरक्षा व्यवस्था कडा पारिएको र अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।