काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र जीवनअनुभव संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयका अनुसार डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकका अनुभव र सीप अभिलेखीकरण गरिनेछ। यसमार्फत विद्यार्थी, युवा तथा नयाँ पुस्तालाई ज्येष्ठ नागरिकको अनुभव र ज्ञानसँग जोड्ने व्यवस्था गरिनेछ।
मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षणका लाभग्राहीका रूपमा मात्र नभई समाजका महत्वपूर्ण ज्ञानदाता र मार्गदर्शकका रूपमा हेर्नुपर्ने बताएकी छन् ।
अनुभव बैंकमार्फत कृषि, उद्यम, शिक्षा, प्रशासन, कला–संस्कृति, परम्परागत ज्ञान तथा सामाजिक जीवनमा ज्येष्ठ नागरिकले हासिल गरेको अनुभव सुरक्षित गरी पुस्तान्तरण गर्ने मन्त्रालयको योजना छ ।
मन्त्रालयले बदलिँदो पारिवारिक संरचना, बसाइँसराइ र शहरीकरणका कारण ज्येष्ठ नागरिकका अनुभव हराउँदै जान नदिन यस पहललाई अघि बढाइएको जनाएको छ ।

