पहिरो र बाढीले देशका दर्जनभन्दा बढी सडक अवरुद्ध

काठमाडौँ । लगातारको वर्षापछि आएको पहिरो, लेदो र नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन रोकिएको तथा केही सडकमा रातिको समयमा मात्र सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ ।

त्यस्तै मकवानपुरको कान्तिलोकपथमा वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यसैबीच, विभिन्न जिल्लामा पहिरो र नदी कटानका कारण प्रमुख सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार इलामको मेची राजमार्गमा इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाइएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्गमा भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नम्बर २ कोदारी क्षेत्रमा माथिबाट पहिरो, ढुङ्गा र लेदो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी गाउँपालिका–५ किर्नेटार क्षेत्रमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

रसुवाको पासाङ ल्हामु सडकखण्डमा उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ ।

मुगुको नाग्म–गमगडी सडकखण्डमा छायाँनाथ रारा नगरपालिका–७ झ्यारी खोलानजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ । रोल्पाको शहीद राजमार्गअन्तर्गत परिवर्तन गाउँपालिका–१ खोलावाङ क्षेत्रमा सुख्खा पहिरो खस्दा यातायात ठप्प भएको छ।

पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा लेदो, माटो र ढुङ्गासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा रघुगंगा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर क्षेत्रमा पहिरो खसेपछि यातायात सञ्चालन हुन सकेको छैन ।

यसैगरी काभ्रेपलाञ्चोकको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–८ गिम्दीबेँसी र वडा नम्बर ९ पिन्थली क्षेत्रमा लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ललितपुरको कान्तिलोकपथमा बागमती गाउँपालिका–३ पाङ्दुर क्षेत्रमा पहिरो खसेपछि सडक बन्द भएको छ । त्यस्तै लमजुङको बेँसीसहर–चामे–मनाङ सडकखण्डमा मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौर क्षेत्रमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले अत्यावश्यकबाहेक जोखिमपूर्ण सडकमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।