एकदिवसीय सिरिजमा इङ्ग्ल्यान्डको कमब्याक, भारत ४ विकेटले पराजित

काठमाडौँ । जो रुटको उत्कृष्ट अविजित ९९ रनको इनिङ्सको मद्दतमा इङ्ग्ल्यान्डले भारतलाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटले पराजित गरेको छ । कार्डिफस्थित सोफिया गार्डेन्समा गएराती सम्पन्न खेलमा जित निकाल्दै इङ्ग्ल्यान्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको हो ।

पहिले ब्याटिङ गरेको भारतले ४४ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो । २३४ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डको सुरुआत भने राम्रो हुन सकेन । जसप्रित बुमराहले बेन डकेटलाई तथा प्रसिद्ध कृष्णाले जेकब बेथेललाई छिट्टै पेभिलियन फर्काए । ह्यारी ब्रुक पनि १६ रनमै गुर्नूर बराडको सिकार बनेपछि इङ्ग्ल्यान्ड दबाबमा परेको थियो। एक समय इङ्ग्ल्यान्डको अवस्था ५ विकेट गुमाएर १२५ रन थियो । त्यसपछि अनुभवी ब्याटर जो रुटले इनिङ्स सम्हाल्दै विल ज्याक्ससँग छैटौँ विकेटका लागि ७२ रनको महत्त्वपूर्ण साझेदारी गरे । रुटले १३३ बलमा अविजित ९९ रन बनाए भने विल ज्याक्सले ३० रनको योगदान दिए । स्याम करनले २६ रन जोडे । रुट शतकबाट एक रनले चुके पनि गस एटकिन्सनले विजयी चौका प्रहार गर्दै इङ्ग्ल्यान्डलाई ४४.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गराए । भारतका लागि गुर्नूर बराडले दुई विकेट लिए भने बुमराह, प्रसिद्ध कृष्णा, शिवम दुबे र अक्षर पटेलले समान एक–एक विकेट हात पारे ।

यसअघि पहिला ब्याटिंग गरेको भारतका लागि श्रेयस अय्यरले ६६ र विराट कोहलीले ६५ रन बनाएका थिए । त्यस्तै इङ्ग्ल्यान्डका बलर जोफ्रा आर्चर र गस अटकिन्सनले ३-३ विकेट लिएका थिए ।

 अब सिरिजको अन्तिम तथा निर्णायक खेल आइतबार लर्ड्स मैदानमा हुने भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।