सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने विषयमा छलफल

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ।

बैठकमा देशभर जलन उपचार व्यवस्थापनको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जानकारी दिएको छ । प्रत्येक स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो संस्थामा सञ्चालित जलन उपचार सेवाको अवस्था, उपलब्ध स्रोत–साधन तथा भावी योजना प्रस्तुत गरेका थिए ।

बैठकले जलन उपचार सेवालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, तालिम, पूर्वाधार, उपकरण, औषधि तथा अन्य स्रोत–साधनको प्रदेशगत रूपमा विस्तृत नक्साङ्कन गरी सोही आधारमा कार्ययोजना कार्यान्वयन गर्ने सहमति गरेको छ।

त्यसैगरी, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा सञ्चालनमा रहेका मनोसामाजिक परामर्श केन्द्रलाई थप व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउने निर्णय गरिएको छ। अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीलाई मनोसामाजिक परामर्श सेवाबारे प्रभावकारी रूपमा जानकारी गराउने तथा आवश्यक परामर्श सहज रूपमा उपलब्ध गराउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।