प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस, विधेयक प्रस्तुत तथा अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल र अनुमोदनसम्बन्धी प्रस्तावहरू अघि बढाइने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री गौतमले न्याय परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा लोक सेवा आयोगको छैसट्ठीऔँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन् । त्यसपछि उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यसैगरी बैठकमा अन्तर्राष्ट्रिय सन्धिमाथि पनि छलफल र अनुमोदनसम्बन्धी प्रक्रिया अघि बढाइनेछ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै उक्त प्रोटोकल अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछन् ।

त्यसैगरी मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) माथि सामान्य छलफल गरियोस् र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।