इनरुवा (सुनसरी), २८ असारः जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक सागसब्जी खेतीमार्फत सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ ।
मलेसियामा र माल्दिभ्समा आठ वर्ष बिताउनुभएका उहाँले आफ्नै तथा भाडामा लिएको १२ कठ्ठा जग्गामा मौसमी र बेमौसमी सागसब्जी खेतीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ ।
केही वर्षअघिका धान खेतमा उहाँले काँक्रा, बोडी, करेला, खुर्सानी, भण्टा फलाउनुुभएको छ । यसबाट वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी हुने गरेको छ ।
उहाँका अनुसार बिउ, मल, जनश्रम तथा अन्य उत्पादन खर्च कटाउँदा कुल आम्दानीको करिब ५० प्रतिशत बचत हुने गरेको छ । उहाँलाई व्यावसायिक बनाउन कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गर्दै आएको छ ।
ज्ञान केन्द्रबाट भिन्डी र बैगुन खेतीका लागि आवश्यक बिउ, मल, मल्चिङ प्लास्टिक तथा विषादी छर्कने ट्याङ्की लगायतका सामग्री अनुदानमा प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
रोजगारीका लागि युवा पुस्ता विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै उहाँ उपयुक्त जमिन र बजार व्यवस्थापन हुन सके कृषि क्षेत्रबाट पर्याप्त आम्दानी गर्न सकिने बताउनुहुन्छ । खेतबारीमा काम गर्ने मानिस नपाउँदा उहाँ खिन्न हुनुहुन्छ । सागसब्जीको उचित मूल्य नपाएको उहाँको गुनासो छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहका अनुसार सुनसरीमा व्यावसायिक तथा मौसमी रूपमा करिब सात हजार पाँच ५०० हेक्टरमा सागसब्जी खेती हुँदै आएको छ ।

