हास्यप्रधान चलचित्रबाट अक्षयकुमारको कमब्याक

काठमाडौं । बलिवुड अभिनेता अक्षय कुमारले पछिल्ला चार चलचित्रको सफलतासँगै पुनः बक्स अफिसमा आफ्नो प्रभाव स्थापित गरेका छन् ।

महामारीअघि सामाजिक सन्देश बोकेका चलचित्रमार्फत सफलता हासिल गरेका अक्षयका यस्ता चलचित्र पछिल्लो समय अपेक्षाअनुसार सफल हुन सकेका थिएनन् । तर हाउसफुल-५, जोली एलएलबी-३, भूत बंगला र वेलकम टु द जङ्गलले बक्स अफिसमा राम्रो व्यापार गरेपछि उनी फेरि हास्यप्रधान र ठूला पर्दामा रमाइलो अनुभव दिने चलचित्रतर्फ केन्द्रित हुनुपर्ने धारणा बलियो बन्दै गएको छ ।

चलचित्र व्यापार विश्लेषकहरुले अभिनेता अक्षयकुमारलाई अहिलेको समय ठूलो लगानी र बहुपात्र रहने मनोरञ्जनात्मक चलचित्रको भएकोले भूत बंगला र वेलकम टु द जङ्गल जस्ता चलचित्र सही समयमा आएको टिप्पणी गरेका छन् । दर्शकले अक्षय कुमारलाई गम्भीरभन्दा हास्य भूमिकामा बढी रुचाउने विश्लेषण गर्दै आगामी दिनमा हास्य भूमिकाका फिल्ममा काम गर्न सुझाव दिएका छन् । केसरी च्याप्टर–२ जस्ता गम्भीर चलचित्रमा गीत सङ्गीत र व्यावसायिक आकर्षण थप्न कठिन हुन्छ, तर वेलकम टु द जङ्गल र भूत बंगला जस्ता चलचित्रलाई प्रचार प्रसार गर्न सजिलो हुने भएकाले दर्शकको व्यापक समर्थन प्राप्त हुने सम्भावना बढी हुने बताइएको छ ।

फिल्म विश्लेषक मात्र होइन सिनेमा हलका सञ्चालकहरुले पनि दर्शकको रोजाइअनुसार चलचित्र निर्माण गर्नुपर्ने धारणा राखेका छन् । अहिले दर्शकले डर र हास्य मिसिएका कथा, मनोरञ्जनात्मक हास्य चलचित्र, गहिरा प्रेमकथा तथा प्रभावशाली एक्सन चलचित्र हेर्न चाहिरहेका छन् । दर्शकको चाहना विपरीत चलचित्र बनाउने प्रयास सफल नहुने उनको भनाइ छ ।

यसैबीच, चलचित्र व्यापार विश्लेषक तरण आदर्शले अक्षय कुमारले आफू बहुआयामिक कलाकार भएको पटक-पटक प्रमाणित गरिसकेको टिप्पणी गरेका छन् । उनका अनुसार अक्षयको आगामी थ्रिलर चलचित्र हैवान पनि फरक भूमिकामा आधारित रहेको छ । यस चलचित्रमार्फत निर्देशक प्रियदर्शनसँग उनको पुनः सहकार्य हुँदैछ भने अभिनेता सैफ अली खानसँग पनि लामो समयपछि एउटै चलचित्रमा देखिदैछन् ।

२०१९ मा गुड न्यूजले बक्सअफिसमा २ सय करोड कमाई गरेपछि रिलिज भएका अक्षयकुमारका फिल्मले २ सय करोड कमाई गरेका छैनन् । त्यसपछि रिलिज भएको बेलिबटम, बच्चन पाण्डे, सम्राट पृथ्वीराज, रक्षा बन्धन, रामसेतु, सेल्फी बक्स अफिसमा फ्लप भएका थिए । त्यसपछि ओ माइ गड- २ ले १५० करोड कमाई गरेको थियो भने त्यसपछि आएको मिसन रानीगंज, बडेमिया छोटे मिया, सरफिरा, खेल खेल मे फ्लप भएका थिए । त्यसपछि स्काई फोर्सले १३१ करोड कमाई गरेको थियो भने केसरी च्याप्टर- २ ले ९३ करोड कमाएको थियो । त्यसपछि रिलिन भएका हाउसफुल-५, जोली एलएलबी-३, भूत बंगला र वेलकम टु द जङ्गलले सय करोड कमाई कटाएका छन् । यसरी हेर्दा अक्षयकुमारलाई हास्यप्रधान फिल्ममा दर्शकले मन पराएको देखिन्छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।