कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख, २६ असारः कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ । यो सँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको सङ्ख्या तीन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन् । पहिचान खुल्नेमा यसअघि भिरमा शव फेला परेका कालिकोट पचाल झरना गाउँपालिका–९ का जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालिकोटकै रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्का रहेका छन् । उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा सनाखत भइसकेको प्रहरी प्रमुख विकले जानकारी दिनुभयो ।

सवारी चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी र उहाँका सहोदर भाइ (सहचालक) रामु सुवेदीसहित अन्य यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ता दुवै दाजु भाइका काका दिल्ली सुवेदीका अनुसार घरका मुख्य साहारा नै नदीमा डुबेकाले परिवार, आफन्त र छरछिमेक यति बेला गहिरो शोकमा छन् ।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा गत बिहीबार खसेको थियो । सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताको खोजी अझै जारी राखेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।