काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगीसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल बाल संगठन तथा बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन–२०७७ र प्रहरी प्रतिवेदनका आधारमा दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी) का अनुसार नेपाल बाल संगठन, बाल मन्दिरबाट अनियमित रूपमा रकम लिएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनीहरूलाई असार २४ गते विभिन्न स्थानबाट पक्राउ गरिएको हो । हाल अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नेपाल बाल संगठनको केन्द्रीय कार्यालय, नक्सालमा तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख रहेकी ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल संगठन जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य तथा नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौंका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।
प्रहरीले ठगीसम्बन्धी कसूरमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको जनाएको छ । मुद्दासम्बन्धी थप तथ्य र प्रमाण संकलनको कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

