ललितपुर, १९ असारः ललितपुरको लूभूस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा पहिले छात्र (केटा)हरू महिनावारीका विषयमा कुरा गर्न लजाउँथेँ । अहिले उनीहरू महिनावारीलाई प्राकृतिक प्रक्रिया हो भनेर बुझाउन सक्ने भएका छन् । विद्यालयमा ‘वि मेन क्लब’ गठन भएपछि उनीहरुको सोचाइमा परिवर्तन आएको छ ।
विद्यालयका कक्षा ८ का फैजान मन्सुरीले क्लबका कारण घरभित्रको जिम्मेवारीप्रतिको आफ्नो सोच पनि परिवर्तन भएको बताउनुभयो । “पहिले घरको काम छोरीले मात्रै गर्नपर्छ भन्ने लाग्थ्यो । अहिले छोराछोरी दुवैले बराबरी काम गर्नुपर्छ भन्ने लाग्छ”, मन्सुरीले भन्नुभयो ।
अर्का विद्यार्थी सुमित विकले महिनावारीलाई लिएर साथीलाई जिस्काउनु गलत रहेछ भन्ने बुझेर अहिले अरूलाई पनि सचेत गराउन थालेको बताउनुहुन्छ । विद्यार्थी रेहान लामाले आवश्यक परेमा आमाका लागि ‘प्याड’ किनेर ल्याउन अप्ठ्यारो नहुने बताउनुभयो । विद्यार्थी प्रिन्सकुमार शाहले ‘यस्ता केटाहरू लजाउनुपर्ने’ अवस्थालाई क्लबले अन्त्य गराएको प्रतिक्रिया दिनुभयो ।
विद्यालयका छात्रा क्रिन्सा रावल र इन्दिरा तामाङका अनुसार क्लबमा सहभागी केटा अहिले केटीहरूप्रति सम्मान व्यक्त गर्ने र सहयोगी बनेका छन् ।
विद्यालयका प्रधानाध्यापक प्रमिला श्रेष्ठले अहिले महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैलाई समान सम्मान गर्नुपर्छ भन्ने विषय व्यवहारमै देखिन थालेको बताउनुभयो । विद्यालयका ‘जेण्डर फोकल’ शिक्षक शङ्करप्रसाद घिमिरेका अनुसार, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र सामाजिक जिम्मेवारीको भावना पनि बढेको देखिएको छ ।
ललितपुरका तीन विद्यालयमा सञ्चालन भइरहेको ‘वि मेन क्लब’ ले भने विद्यार्थीको सोच, व्यवहार र सामाजिक जिम्मेवारीमै परिवर्तन ल्याउन थालेको अनुभव विद्यालय प्रशासन, शिक्षक र विद्यार्थी खुलेर बताउन थालेका छन् ।
लैङ्गिक समानता, सम्मानजनक व्यवहार, भावनाको अभिव्यक्ति, महिनावारी, साइबर सुरक्षा, घरायसी जिम्मेवारीको बाँडफाँट, विविध लैङ्गिक तथा यौनिक पहिचान र हिंसाविरुद्धको सचेतनाजस्ता विषयलाई व्यावहारिक अभ्यासमार्फत सिकाइने भएकाले यसको प्रभाव कक्षाकोठाभन्दा बाहिर घरपरिवार र समुदायसम्म देखिन थालेको उहाँहरुको भनाइ छ ।
श्री गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयका प्रधानाध्यापक नीरा श्रेष्ठका अनुसार सुरुमा कार्यक्रम केही फरक र नयाँ लागे पनि अहिले यसको सकारात्मक प्रभाव स्पष्ट रूपमा देखिन थालेको छ । उहाँले प्रारम्भिक चरणमा व्यवहारगत समस्या भएका तथा अतिरिक्त सहयोग आवश्यकपर्ने विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको तर क्लबमा सहभागी विद्यार्थी पढाइमा सक्रिय हुने, अनुशासित बन्ने र साथीहरूसँग सम्मानपूर्वक व्यवहार गर्ने भएका बताउनुभयो ।
सो विद्यालयका कक्षा ८ का जुनिस थामीका अनुसार क्लबले आफूलाई आत्मविश्वासी बनाएको छ । कक्षा ९ का लवराज पाण्डेले क्लबमा जोडिएपछि त्यो सोच परिवर्तन भएको बताउनुभयो ।
कक्षा ९ की छात्रा शिखा तामाङले क्लबमा सहभागी साथीहरूमा आएको परिवर्तन आफूले प्रत्यक्ष देखेको बताउनुभयो । तामाङले भन्नुभयो, “पहिलेभन्दा अहिले केटाहरू धेरै सहयोगी भएका छन् । सबैलाई समान व्यवहार गर्छन् । महिनावारीलाई लिएर जिस्क्याउने बानी हटेको छ । क्लबमा सिकेको कुरा अरू साथीलाई पनि सिकाउने गरेका छन् ।”
त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनालका अनुसार क्लबले विद्यार्थीहरूमा सिकाइप्रतिको उत्साह र आत्मविश्वास उल्लेखनीय रूपमा बढाएको छ ।
उहाँका अनुसार किताबमा पढाइने विषयभन्दा फरक रूपमा विद्यार्थीहरूले व्यवहारमै अभ्यास गरेर सिकिरहेका छन्, जसको प्रभाव उनीहरूको दैनिक जीवनमा देखिन थालेको छ ।
सो विद्यालयका कक्षा ७ का रामबहादुर अधिकारीले क्लबले आफ्नो आत्मविश्वास बढाएको अनुभव सुनाउनुभयो ।

