प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

काठमाडौँ, २६ भदौ। कमेडी च्याम्पियनका होस्ट विशाल भण्डारीले बालेन्द्र शाह नेतृत्वको सरकारप्रति निराशा व्यक्त गरेका छन्।

विगतका सरकारले गरेका गल्ती-कमजोरीबाट शाह नेतृत्वको सरकारले पनि कुनै पाठ नसिकेको र अहम् कायम राखेको भन्दै निराशा व्यक्त गरेका हुन्।

शाह नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको व्यवहार र अभिव्यक्तिका कारण पहिलाभन्दा तुलनात्मक रूपमा प्रधानमन्त्री शाहकै ‘स्टाटस’मा बढी गाली आउन थालेको उनको निष्कर्ष रहेको छ।

“सत्ताको अहङ्कारले ओली ढले, सत्तामा हुँदा गरेको सेटिङले देउवा ढले, शक्तिको दुरुपयोगले प्रचण्ड ढले। हिजो पुरानामा ‘म र वरिपरिका हामीबाहेक जान्ने कोही छैन’ भनेर उन्माद भएर जे पनि गर्थे, सबै मन्त्रालयमा मन्त्रीलाई पपेट बनाउँथे, अति भएपछि जेनजीले लखेटे,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अहिलेको सरकारले यो सबै गरेको जस्तो गन्ध आउँदैछ, आफ्नै सांसद र मन्त्रीको त्यस्तो अभिव्यक्ति आउन थालिसक्यो, पहिलाभन्दा तुलनात्मक रूपमा पीएमकै स्टाटसमा बढी गाली आउन थालिसक्यो।”

उनले संवाद र सहकार्यको राजनीतिमा लाग्नुपर्ने सुझाव पनि प्रधानमन्त्री शाह र सरकारको नेतृत्व गरिरहेको दल रास्वपालाई दिएका छन्। “यो सबैको समाधान संवादले हुन्छ, संवाद गरौँ, सल्लाह लिऔँ,” उनले अगाडि लेखेका छन्, “नियत सफा भए देश बनाउन शुभचिन्तक, आफ्नै पार्टीका पदाधिकारी, सांसद, मन्त्रीसँग जाबो संवाद त गर्न सकिहालिन्छ नि!”

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।