बेपत्ता गाडी पुनःखोज्दै गोताखोर

कर्णाली, १९ असारः बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर आज बिहान ८ः०० बजेदेखि पुनःपरिचालन भएका छन् ।

बिहान ८ः०० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।

बिहीबार पाँच घण्टासम्म गोताखोरले खोजी गर्दा नभेटाएपछि आज पुनःखोजी गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जलसतह मात्र बढेको छैन, नदीको बेग पनि त्यत्तिकै तीव्र छ । पानी धमिलो छ । घटनास्थलमा सिधै जाने ठाउँ छैन । अछाम जिल्लाबाट खोज्नुपरेको छ । अचेत अवस्थाम भिरमा अड्केका एक जना पुरुषको उद्धार गरी अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको छ । मृतकको ठेगाना खुल्न सकेको छैन ।”

खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना घटनास्थलमा परिचालन गरिएको छ ।

सुर्खेत बसपार्कबाट बिहान ८ः०० बजे गाडी छुट्दा तीन र दैलेखको डुङ्गेश्वरबाट दुई, चालक र सहचालक गरी अहिलेसम्म आधिकारिक सात व्यक्ति गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।

गाडी ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको स्थान प्रहरीचौकी दैलेखबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।