हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

काठमाडौँ, १८ असार : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हात्तीपाइले रोग लगाउने परजीविको अध्ययन सुरु गरेको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाइले रोग लगाउने परजीवी मानिसमा भए÷नभएको बारेमा विद्यालय पढ्ने बालबालिकामा अध्ययन सुरु गरेको हो ।

केन्द्रका निर्देशक डा भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका २४० विद्यालयका कक्षा १ र २ मा पढ्ने छ र सात वर्ष उमेर समूहका बालबालिकामा अध्ययन सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्यकर्मीले ती विद्यालयमा पुगी बालबालिकाको रगतको नमूना सङ्कलन गरिरहेका छन् । इलाम र पाँचथरमा एक हजार ५७० जना विद्यार्थी र तेह्रथुममा एक हजार ४१० जना विद्यार्थीको रगत निकालेर परीक्षण सुरु गरिएको छ । विद्यार्थीको रगतको नमूना सङ्कलन गर्न ६५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाएको छ ।

उचेरेरिया ब्याक्रोफ्टी, ब्रुजिया मलायी र ब्रुजिया टिमोरी हात्तीपाइले लगाउने परजीवि हुन् । नेपालमा पाइने गरेको हात्तिपाइले रोगका बिरामी उचेरेरिया ब्याक्रोफ्टी नामक परजीवीबाट मात्र सङ्क्रमित भएको पाइएको केन्द्रका निर्देशक डा सापकोटाले जानकारी दिनुभयो ।

“ती जिल्लामा रहेका स्थानीयले छ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि हामीले परजीवी छ÷छैन अध्ययन गर्दछौँ”, उहाँले भन्नुभयो, “यसपटक पनि हामीले त्यस जिल्लाका औषधि नखाएका बालबालिकामा अध्ययन गर्न थालेका हौँ ।”

सन् २०१९ पछि जन्मेका बालबालिकामा केन्द्रले अध्ययन गर्न थालेको हो । देशका ६३ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित भएको पाइएको छ । निर्देशक डा सापकोटाले आगामी आर्थिक वर्षमा हात्तीपाइलेको जोखिम रहेका अन्य जिल्लामा पनि अध्ययन गरिने जानकारी दिनुभयो । मसिनो धागो आकारको जुकाको परजीवीको सङ्क्रमणको कारण हात्तीपाइले रोग हुने गरेको छ ।

क्यूलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेपछि यी परजीवी शरीरमा प्रवेश गर्ने र मानिसलाई यो रोग लाग्ने चिकित्सको भनाइ छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।