चोरी गरेर अमेरिका पुर्याइएका पद्मपाणि र नृत्यदेवीको ऐतिहासिक मूर्ति नेपाललाई हस्तान्तरण

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा ऐतिहासिक तथा पुरातात्विक महत्वका दुईवटा नेपाली मूर्तिहरू नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । 

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक विशेष समारोहका बीच न्युयोर्क काउन्टी डिस्ट्रिक्ट एभिन्युको कार्यालयले १३औँ शताब्दीको ‘पद्मपाणि’ र १६औँ शताब्दीको ‘नृत्यदेवी’ को मूर्ति नेपाललाई बुझाएको हो ।

मूर्तिहरूको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्बन्धी सहमति पत्रमा नेपालका तर्फबाट महावाणिज्यदूत दधिराम भण्डारी र म्यानहटन डिस्ट्रिक्ट एटर्नी कार्यालयको एन्टिक्स ट्राफिकिङ युनिटका प्रमुख कर्नल म्याथ्यु बोग्डानोसले हस्ताक्षर गरेका छन् ।

लामो समयअघि चोरिएका बहुमूल्य सम्पदा हस्तान्तरण गरिएका मूर्तिहरूमध्ये १३औँ शताब्दीको काँसको ‘पद्मपाणि’ मूर्ति काठमाडौँको थमेलस्थित विक्रमशील महाविहार (भगवान बहाल) को मुख्य धरोहर हो । सन् १९७१ सम्म मन्दिरमै रहेको यो मूर्ति सन् १९७१ देखि १९७७ को बीचमा अवैध रूपमा अमेरिका तस्करी गरिएको विश्वास गरिन्छ । 

त्यसैगरी, १६औँ शताब्दीको काठबाट बनेको ‘नृत्यदेवी’ को मूर्ति पाटनको इ-बहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना हो । सन् १९६९ देखि १९८३ को बीचमा नेपालबाट हराएको यो मूर्ति न्युयोर्कको प्रसिद्ध मेट्रोपोलिटन म्युजियमबाट बरामद गरिएको थियो । यी दुवै अमूल्य मूर्तिहरू न्युयोर्क काउन्टी डिस्ट्रिक्ट एटर्नी कार्यालय र अमेरिकी गृह सुरक्षा अनुसन्धान विभागको विशेष सक्रियतामा संकलन गरिएका हुन् ।

महावाणिज्यदूतावासका अनुसार यी दुवै मूर्तिहरूलाई पूर्ण सुरक्षाका साथ प्याक गरी जुन २५, २०२६ मा नेपालतर्फ ढुवानी गरिनेछ । ढुवानीको सम्पूर्ण व्यवस्थापन महावाणिज्यदूतावास र नेवाः गुठी न्युयोर्कको समन्वयमा भएको छ भने गुठीका प्रतिनिधिहरू स्वयम् मूर्तिहरूसँगै नेपाल जानेछन् । काठमाडौँ आइपुगेपछि यी मूर्तिहरूलाई नेपाल सरकारको पुरातत्व विभागलाई बुझाइने बताइएको छ । विभागले आवश्यक संरक्षण र प्रक्रिया पूरा गरेपछि मूर्तिहरूलाई तिनीहरूकै मूल स्थान (थमेल र पाटन) मा पुनस्र्थापित गरिने जनाइएको छ । 

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।