तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ, १० असारः स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि ती मतदाता थपिएका हुन् ।

उक्त निर्वाचनपछि १८ हजार छ सय २२ वटा मतदाता नामावली अद्यावधिकका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम थिए ।

आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनलगायत कार्य सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा यही असार ४ गतेको राष्ट्रियसभाको राष्ट्रिय समावेशीकरणको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका पदाधिकारीसँग छलफल भएको थियो ।

निर्वाचन हुने निर्धारित मितिभन्दा कम्तीमा छ महिना अगावै निर्वाचन घोषणा, समयमा आवश्यक बजेट उपलब्ध गराउने, आयोग तथा मातहतका निकायका रिक्त पद पूर्ति , मतदाता नामावली व्यवस्थापन प्रणाली स्तरोन्नति, आधुनिक उपकरणबाट मतपत्र छाप्ने तथा गलत सूचना प्रवाह हुन नदिन प्रभावकारी संयन्त्र विकास विषयमा सुझावहरू प्रस्तुत भएका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।