काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज नहुने भएको छ । प्रतिनिधि छनोटको विषय नमिलेपछि आज बन्द सत्र हुन नसकेको हो ।
महाधिवेशनको कार्यतालिका अनुसार आज बिहान साढे ८ बजेदेखि सुरु हुनुपर्ने बन्दसत्र पटक पटक सारिएपनि आज विवाद मिलन सकेन । अब विवाद मिलाएर मंगलबार बिहान ८ बजेदेखि बन्द सत्र गर्ने तयारी गरिएको बताइएको छ ।
महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय लागेका कारण बन्द सत्र शुरु हुन नसकेको रास्वपा नेताहरुले बताएका छन् । बिहानैदेखि बन्दसत्र स्थल उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सोमबार बिहान देखि नै महाधिवेशन प्रतिनिधिहरु उपस्थित भएका थिए । कतिपयले उम्मेदवारी घोषणा गरेर मत माग्न समेत शुरु गरेको देखिएको थियो ।
आज बन्द सत्र हुन नसकेपछि रास्वपाको महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएको छ र महाधिवेशन लम्बिने भएको छ । रास्वपाको यस प्रथम महाधिवशेनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ । महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए ।

