तनहुँ, ७ असारः गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खाद्यान्न बाली उत्पादन बढाउन यहाँका तीन वटा सहकारी संस्थालाई कृषि सामग्री हस्तान्तरण गरेको छ ।
भानु नगरपालिका–८ स्थित भानु कृषि सहकारी संस्था, भानु नगरपालिका–१० को जागृती बचत तथा ऋण सहकारी संस्था र सोही वडास्थित सिमलचौर बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई सामग्री उपलब्ध गराइएको हो ।
जिल्ला कृषि विकास कार्यालयले उक्त दुई वडाका किसानलाई ७५% प्रतिशत अनुदानमा बीउबिजन, कृषि सामग्री वितरणसहित सिँचाइका लागि कुलो निर्माण गरेको छ । कार्यक्रमअन्तर्गत सहकारीलाई ‘स्प्रेयर’, त्रिपाल, धान बीउलगायत सामग्री वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला कृषि कार्यालयका प्रमुख परशुराम अधिकारीले शनिबार संयुक्त रूपमा कृषकलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “अनुदान कार्यक्रमले उत्पादनमा वृद्धि भएको पाइएको छ, अझ धेरै उत्पादन गर्न किसानहरू लाग्नुहुनेमा म विश्वस्त छु ।”

