जित्नै पर्ने अवस्थामा चेक गणतन्त्र र दक्षिण अफ्रिका आजराती खेल्दै

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण खेलमा आजराती चेक गणतन्त्र र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् । अमेरिकाको एटलान्टा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदैछ ।

दुवै टोलीका लागि यो खेल अत्यन्तै निर्णायक मानिएको छ, किनभने हारले प्रतियोगिताबाट बाहिरिने जोखिम बढ्नेछ ।

चेक गणतन्त्रले आफ्नो पहिलो खेलमा दक्षिण कोरियाविरुद्ध लाडिस्लाभ क्रेच्कीको गोलमार्फत अग्रता लिए पनि अन्ततः २–१ ले पराजित भएको थियो । खेलमा ह्वाङ इन-बम र ओ ह्योन-ग्युले गोल गर्दै दक्षिण कोरियालाई जित दिलाएका थिए ।

त्यस हारपछि चेक गणतन्त्रमाथि दबाब बढेको छ । पहिलो खेलमा दक्षिण कोरियाले बल नियन्त्रण गर्दै चेक गणतन्त्रलाई मात्र सात प्रहारमा सीमित गरिदिएको थियो । चेक गणतन्त्रको अपेक्षित गोल अवसर पनि निकै कम रहेको थियो । यद्यपि चेक गणतन्त्रसँग अझै अन्तिम ३२ मा पुग्ने सम्भावना भने कायम रहेको छ ।

यता दक्षिण अफ्रिका पनि समान दबाबमा छ । पहिलो खेलमा सह-आयोजक मेक्सिकोसँग २-० ले पराजित भएको दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको थियो । त्यस खेलमा टोलीले अत्यन्त न्यून आक्रमण अवसर सिर्जना गरेको थियो ।

उक्त खेलमा याया सिथोले र थेम्बा ज्वाने रातो कार्ड पाएपछि दक्षिण अफ्रिकालाई ठूलो झड्का लागेको छ। अब दुवै खेलाडी अनुपस्थित रहने भएकाले टोलीमा परिवर्तन हुने सम्भावना छ। टोलीका प्रशिक्षक ह्युगो ब्रोसको आलोचना भए पनि गोलरक्षक रोनवेन विलियम्स र टोलीका अन्य खेलाडीहरूले प्रशिक्षकको बचाउ गरेका छन्। खेलाडी रिकार्डो गोसले टोली अझै प्रशिक्षकप्रति विश्वस्त रहेको बताएका छन् ।

दुवै टोलीको इतिहास पनि रोचक छ । सन् १९९७ मा भएको एक मात्र भेट २-२ को बराबरीमा सकिएको थियो । दक्षिण अफ्रिकाले युरोपेली टोलीविरुद्ध विश्वकपमा केही यादगार नतिजा निकालेको छ, जसमा सन् २०१० मा फ्रान्सलाई हराएको खेल पनि समावेश छ । अब चेक गणतन्त्र र दक्षिण अफ्रिका दुवैका लागि यो खेल ‘गर या मर’ स्थितिको निर्णायक भिडन्त बन्न पुगेको छ ।

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।