रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

सिद्धार्थनगर (भैरहवा), ४ असारः रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

जेठ महिनामा हराएको भनी निवेदन परेका १०८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारसँग सम्पर्क गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार त्यस महिनामा हराएकामध्ये ३० बालबालिका, ४८ महिला र ३० पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तीमध्ये १८ बालबालिका, २९ महिला र १४ पुरुष फेला परेका थिए ।

यस्तै, अघिल्लो आर्थिक वर्षको पुस महिनादेखि खोजीको सूचीमा रहेका थप नौ जनालाई समेत पछिल्लो अवधिमा फेला पारी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । परिवारको जिम्मा लगाइएकामा दुई बालिका, पाँच महिला र दुई पुरुष छन् ।

जिल्लामा बेपत्ताको खोजी तथा उद्धारलाई चुस्ततुस्त तुल्याउन थप प्रहरी परिचालन गरिएको र हराएका व्यक्तिको खोजी कार्य निरन्तर जारी रहेको सूचना अधिकारी चन्दले बताउनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।