काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको हो ।

समितिले जारी गरेको सूचनाअनुसार पहिलो पटक प्रकाशित भएको मितिदेखि १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको वेवसाइट www.moest.gov.np मा दिइएको लिंकमा दरखास्त पेस गर्न सकिनेछ । उपकुलपति नियुक्ति प्रक्रिया केयूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८३ बमोजिम अघि बढाइएको हो ।

यसअघि जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा केयूका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य रहेका छन् ।

समितिले प्राप्त आवेदनका आधारमा योग्य उम्मेदवारहरूको छनोट गरी उपकुलपति पदका लागि नाम सिफारिस गर्नेछ । शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको काठमाडौँ विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिसँगै भावी शैक्षिक तथा संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।