तमिलनाडुका मुख्यमन्त्री विजय र पत्नी सङ्गीताको सम्बन्धविच्छेदको मुद्दा फेरी स्थगित

काठमाडौँ । भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री विजयकी श्रीमती सङ्गीताले सम्बन्धविच्छेदका लागि दायर गरेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । अदालतले अब अर्को सुनुवाइ अगस्ट ७ का लागि तय गरेको छ ।

सङ्गीताले २०२६ फेब्रुअरी २७ मा चेङ्गलपट्टु पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गरेकी थिइन् । हाल उक्त मुद्दाको सुनुवाइ महिला अदालतमा भएको हो ।

यो मुद्दा सङ्गीताले फेब्रुअरीमा दायर गरेको निवेदनसँग सम्बन्धित छ, जसमा उनले विजयको एक महिला अभिनेत्रीसँग वैवाहिक सम्बन्धबाहिरको सम्बन्ध रहेको आरोप लगाएकी छन् । यस मुद्दाको पहिलो सुनुवाइ अप्रिल २० मा तोकिएको थियो । तर दुवै पक्ष उपस्थित नभएपछि अदालतले जुन १५ मा उपस्थित हुन आदेश दिएको थियो ।

सङ्गीताले आफ्नो निवेदनमा सन् २०२१ मा विजयको उक्त सम्बन्धबारे थाहा पाएको उल्लेख गरेकी छन् । यस विषयमा कुरा गर्दा विजयले पटक–पटक सम्बन्ध अन्त्य गर्ने आश्वासन दिए पनि सम्बन्धलाई निरन्तरता दिएको र ती महिला अभिनेत्रीसँग विभिन्न भ्रमण तथा कार्यक्रममा सहभागी भएको दाबी गरिएको छ ।

उनले यस घटनाको असर आफू र आफ्ना दुई सन्तान जेसन सञ्जय र दिव्या साशामाथि पनि परेको बताएकी छन् । ती महिला अभिनेत्रीले विजयसँगका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि आफूले अपमान र असहज अवस्था भोग्नुपरेको उनको दाबी छ ।

सङ्गीताले विजयले आफूलाई उपलब्ध गराइएका सुविधा फिर्ता लिएको, आर्थिक प्रतिबन्ध लगाएको तथा आफ्नो आवतजावतमा समेत रोक लगाएको आरोप लगाएकी छन् । यसबाट आफू गम्भीर मानसिक तनावमा परेको भन्दै उनले विशेष विवाह ऐनअन्तर्गत सम्बन्धविच्छेदको निवेदन दर्ता गरेकी हुन् ।

विजय र सङ्गीताको विवाह सन् १९९९ मा भएको थियो । करिब २७ वर्ष लामो वैवाहिक सम्बन्धपछि दुवैले यो सम्बन्ध अन्त्य गर्ने प्रक्रियामा प्रवेश गरेका छन् ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।