काठमाडौँ । बलिवुडको यशराज फिल्म्सको स्पाई यूनिभर्सको नयाँ फिल्म ‘अल्फा’ को टिजर सार्वजनिक भएको छ ।
टिजरमा अभिनेत्री आलिया भट्टलाई एक्शन अवतारमा देखाइएको छ । अभिनेता बबी देओल र अभिनेत्री आलियालाई प्रमुख रुपमा देखाइएको टिजरमा आलिया एक्सन अवतारमा देखिएकी हुन् ।
बाबुछोरीको भूमिकामा रहेका बबी र आलियालाई कठोरपूर्ण तालिमपछि १८ वर्षकी भएपछि एउटा ‘मिशन’ को जिम्मेवारी दिन्छन् । यसपछि आलियाका एक्सन दृश्यहरू देखाइएको छ ।
आगामी जुलाई ३ मा प्रदर्शन हुने ‘अल्फा’ एक महिलाप्रधान एक्सन फिल्म हो । यसमा बबी र आलियासहित शरवरी वाघ, अनिल कपूर, र आर. माधवन पनि मुख्य भूमिकामा छन् । आदित्य चोपडा निर्माता रहेको फिल्मको निर्देशन शिव रवैलले गरेका हुन् । ‘फ्यान’, ‘धुम ३’ जस्ता फिल्ममा सहायक निर्देशक भएर काम गरेका शिवको ‘अल्फा’ पहिलो फिचर फिल्म हो ।
यशराजको ‘वाईआरएफ स्पाई युनिभर्स’ को सुरुवात सन् २०१२ मा प्रदर्शनमा आएको ‘एक था टाइगर’बाट भएको थियो, जसमा सलमान खान मुख्य भूमिकामा थिए । ‘अल्फा’ यशराज फिल्म्सको सातौं स्पाई यूनिभर्स फिल्म हो । यो फिल्म एक सय करोडको लागतमा निर्माण भएको बताइएको छ ।

