फ्लाइ दुबईलाई पोखराबाट उडान सञ्चालन गर्ने अनुमति

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने तयारीमा महत्त्वपूर्ण प्रगति भएको छ । विश्वस्तरीय वायुसेवा कम्पनी फ्लाइ दुबईले आगामी सन् २०२६ सेप्टेम्बर २३ देखि दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको हो ।

उच्चस्तरीय सुरक्षा, सुरक्षित सञ्चालन र प्राविधिक निरीक्षण सम्पन्न भएपछि उक्त सेवा सञ्चालनको बाटो खुलेको हो । यससँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने आधार तयार भएको बताइएको छ ।

फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो। 

पोखरा महानगरका नगर प्रमुख धनराज आचार्यले यो निर्णयलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने ऐतिहासिक अवसरका रूपमा लिएका छन् । उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार र काठमाडौँ केन्द्रित हवाई चाप घटाउन सहयोग गर्नेछ ।

उनले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने ऐतिहासिक यात्रामा सबैको साथ, सहयोग र शुभेच्छा आवश्यक रहेको बताएका छन् ।

करिब २२ अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको भएपनि हाल आन्तरिक उडानमा मात्र सीमित रहेको छ ।

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।