वीरगन्ज महानगरका नगर प्रमुख सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

किर्ते जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा जिल्ला अदालत पर्साले मंगलबार ३५ दिने पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

नगर प्रमुख सिंहमाथि अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरिएको आरोप लागेको छ ।

अभियोगपत्र अनुसार नगर प्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा देखाउँदै २०७१ माघ २० गते रुबिना श्रेष्ठको जन्मदर्ता गराएका थिए । सोही जन्मदर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता बनाइएको र त्यसको १२ दिनपछि राहदानीसमेत जारी गरिएको अनुसन्धानबाट खुलेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय पर्साले गत जेठ १ गते चारवटा अलग-अलग मुद्दा दर्ता गरेको थियो । तीमध्ये दुईवटा लिखत सम्बन्धी कसुर, एउटा झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा अर्को राहदानीसम्बन्धी कसुर रहेको छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।