काठमाडौँ । म्यानचेस्टर सिटीले एन्जो मारेस्कालाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।
म्यानचेस्टर सिटीले मारेस्कासँग तीन वर्षको सम्झौता गरेको ब्रिटिश मिडियाहरुले उल्लेख गरेका छन् । उनी पेप ग्वार्डिओलाको स्थानमा नयाँ मुख्य प्रशिक्षक बन्ने भएका हुन् ।
रिपोर्टअनुसार ग्वार्डिओलाले १० बर्षको आफ्नो कार्यकालबाट बिदाई लिएपछि पूर्व सहायक प्रशिक्षकसमेत रहेका मारेस्कालाई अनुबन्ध गरेको हो । क्लबले यसबारे औपचारिक घोषणा छिट्टै गर्ने तयारी गरेको बताइएको छ ।
मारेस्काले बलियो र प्रतिस्पर्धात्मक टोली पाएका छन् । ग्वार्डिओलाको कार्यकालको अन्तिम १८ महिनामा क्लबले दीर्घकालीन योजनाअनुसार युवा खेलाडी भित्र्याउने अभियानलाई तीव्र बनाएको थियो ।
यसक्रममा रायन चेर्की, अब्दुकोदिर खुसानोभ, मार्क गुएही र एन्टोइन सेमेन्यो जस्ता खेलाडी टोलीमा आबद्ध भएका थिए । आगामी सिजनका लागि खेलाडी छनोट र नयाँ अनुबन्ध रणनीतिमा मारेस्काको मुख्य भूमिका रहने बताइएको छ ।
सिटीले सन् २०२५–२६ को सिजनमा उपविजेतामा सीमित भएपछि पुनः उपाधि जित्ने लक्ष्य राखेको छ ।
मारेस्का सामु अबको मुख्य चुनौती ग्रीष्मकालीन खेलाडी बजारलाई व्यवस्थित गर्दै टोलीको खेल शैलीलाई अझ सुदृढ बनाउनु रहनेछ । मिडफिल्ड मजबुत बनाउन नटिङ्घम फरेस्टका इलियट एन्डरसनलाई प्राथमिक लक्ष्य बनाइएको बताइएको छ । उनले अब आफ्नै बल नियन्त्रणमा आधारित खेल शैली लागू गर्दै धेरै प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्ने दबाब सामना गर्नुपर्नेछ ।
मारेस्का यसअघि लेस्टर सिटी र चेल्सीको प्रशिक्षक समेत रहेका छन् । उनी चेल्सीबाट गत जनवरीमा बर्खास्त भएका थिए ।

