धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

गलकोट (बागलुङ), ६ जेठः धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ । निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो ।

विकलाई परिवारका सदस्यले बेहोस अवस्थामा बिहान ११ बजे धौलागिरी अस्पताल ल्याएका थिए । विषालु सर्पले टोकेर बेहोस भएका विकको सर्पदंशको उपचारका लागि तालिम प्राप्त चिकित्सकको टोलीले अस्पतालमै सफल उपचार गरेको हो ।

“यसअघि पनि सर्पले टोकेका बिरामी अस्पताल आउँथे, उनीहरूको अवस्था हेरेर सामान्य उपचारपछि रेफर गरिन्थ्यो, तर, धौलागिरी प्रादेशिक अस्पताल बागलुङ सर्पदंश उपचार केन्द्रको रूपमा विकास भएपछि विषालु सर्पले टोकेका बिरामीको उपचार गरिएको यो पहिलो पटक हो”, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले बताउनुभयो । कन्सल्टेन्ट सर्जन डा शङ्कर राज लामिछानेको टोलीले सर्पदंशको सफल उपचार गरेको हो । उपचारपछि निको भएका विकलाई चिकित्सकसँग सम्पर्कमा रहने गरी डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

सर्पले टोकेमा घरेलु उपचार र धामीझाँक्रीको पछि नलागी जतिसक्दो छिटो अस्पताल आउन धौलागिरी प्रादेशिक अस्पताल बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माले आग्रह गर्नुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।