दक्षिण चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्युडको भूकम्पः दुई जनाको मृत्यु, एक बेपत्ता

दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमवार बिहान ५.२ म्याग्निच्युडको भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार सोमवार बिहान ०ः२१ बजे लिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । उक्त भूकम्प जमिनको सतहबाट करिब ८ किलोमिटर गहिराइमा मापन गरिएको थियो । भूकम्पलगत्तै स्थानीय आपत्कालीन सेवा, दमकल र प्रहरी टोलीहरू उद्धार कार्यमा परिचालन भएका छन् । ग्वाङ्सी क्षेत्रीय भूकम्प राहत मुख्यालयले बिहान २ बजे (तेस्रो तह) को आपत्कालीन कार्ययोजना लागू गरेको छ । 

यसैबीच, चीनको ‘स्टेट काउन्सिल’ भूकम्प राहत मुख्यालयको कार्यालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले (चौथो तह) को आपत्कालीन प्रतिक्रिया सक्रिय गर्दै प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउन एक कार्यदल पठाएको छ । स्थानीय प्रशासनलाई मानवीय क्षति र भौतिक क्षतिको यकिन विवरण छिटोभन्दा छिटो संकलन गर्न, खोजी तथा उद्धार कार्यलाई तिब्रता दिन र प्रभावित बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिइएको छ।

साथै, भूकम्पपछिका परकम्पहरूको निरन्तर निगरानी गर्न समेत भनिएको छ । उद्धार कार्यका लागि हालसम्म ५१ वटा दमकल तथा उद्धार सवारी साधन र ३१५ जना उद्धारकर्मी घटनास्थलमा खटाइएको छ । चीन भूकम्प प्रशासनले पनि घटनापश्चात् तेस्रो तहको आपत्कालीन प्रतिक्रिया सक्रिय पारेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

About the author

Jayanti Shiwakoti

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।