थाइल्याण्डद्वारा नयाँ भिसा नीति सार्वजनिकः ९३ देशका लागि ६० दिने भिसा–मुक्त प्रवेश सुविधा खारेज

थ

थाइल्याण्डको मन्त्रिपरिषद्ले मङ्गलवार भिसा छुट सम्बन्धी नीतिहरूमा व्यापक परिमार्जन गर्दै ९३ देश तथा क्षेत्रका पर्यटकहरूका लागि उपलब्ध ६० दिने भिसा–मुक्त प्रवेश सुविधा खारेज गर्ने निर्णय गरेको छ । थाइ परराष्ट्र मन्त्रालयकाअनुसार राष्ट्रिय सुरक्षा, पर्यटन अर्थतन्त्र र कुटनीतिक पारस्परिकतालाई मध्यनजर गर्दै प्रवेश प्रक्रियालाई थप व्यवस्थित र सुदृढ बनाउन यो नयाँ व्यवस्था लागू गरिएको हो । यो नीति आधिकारिक ‘रोयल गजेट’ मा प्रकाशित भएको १५ दिनपछि कार्यान्वयनमा आउनेछ ।

कन्सुलर मामिला विभागका महानिर्देशक मुङकोर्न प्रतुमकाउले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार, भिसा सुविधामा हुने दोहोरोपन हटाउन अबदेखि प्रत्येक देश वा क्षेत्रका लागि केवल एउटा मात्र भिसा छुट योजना लागू गरिनेछ । उहाँले यसअघि ९३ वटा देशहरूले पाउँदै आएको ६० दिने भिसा छुट पूर्ण रूपमा खारेज गरिएको स्पष्ट पार्नुभयो । यसैगरी, सरकारले ३० दिने भिसा छुट पाउने देशहरूको संख्या ५७ बाट घटाएर ५४ कायम गरेको छ । यो ३० दिने सुविधा अबदेखि केवल पर्यटन प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइने अनिवार्य व्यवस्था गरिएको छ । 


मन्त्रिपरिषद्ले तीनवटा देशका नागरिकका लागि १५ दिने नयाँ भिसा छुट योजना समेत ल्याएको छ । साथै, आगमनमा दिइने भिसा (भिसा–अन–अराइभल) कार्यक्रममा पनि व्यापक कटौती गरिएको छ । यसअघि ३१ वटा देश तथा क्षेत्रले पाउँदै आएको यो सुविधा अब केवल ४ वटामा सीमित गरिएको महानिर्देशक प्रतुमकाउले बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।