डिजिटल काम गर्न ओपनएआईले ल्यायो डट्स एआई एजेन्ट

ड

काठमाडौं । सस्तो हवाई टिकट खोज्ने वा आफूलाई मनपर्ने होटलमा कोठा बुक गर्ने काम अब कृत्रिम बुद्धिमत्ता आफैँले गर्न सक्ने भएको छ ।

च्याटजिपिटी निर्माण गर्ने कम्पनी ओपनएआईले ‘डट्स’ नामको नयाँ कृत्रिम बुद्धिमत्ता प्रणाली सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताले दिएको निर्देशनअनुसार विभिन्न डिजिटल काम आफैँ पूरा गर्न सक्ने जनाएको छ ।

सामान्य संवादात्मक प्रणालीले जस्तै प्रश्नको जवाफ दिने मात्र नभई डट्सले प्रयोगकर्ताको निर्देशनअनुसार आफैँ काम अघि बढाउन सक्छ । यसमा इन्टरनेटमा चल्ने क्लाउड कम्प्युटर र ब्राउजरसमेत रहेकाले प्रयोगकर्ताको मोबाइल वा ल्यापटप बन्द भए पनि पृष्ठभूमिमा काम जारी राख्न सक्ने बताइएको छ । यो सुविधा अहिले शुल्क तिरेर प्रयोग गर्ने प्रिमियम प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ ।

ओपनएआईका अनुसार डट्सलाई ४ हजारभन्दा बढी अनुप्रयोगसँग जोड्न सकिन्छ । यसलाई च्याटजिपिटीका साथै स्ल्याक र माइक्रोसफ्ट टिम्सजस्ता माध्यमबाट पनि प्रयोग गर्न सकिने बताइएको छ । उदाहरणका रूपमा ग्राहकको प्रतिक्रिया निरन्तर हेर्ने काम डट्सलाई दिन सकिन्छ । त्यस्तै, सफ्टवेयरमा भएका त्रुटि पत्ता लगाउने, तिनलाई सुधार्ने तथा नयाँ कोड परीक्षण गर्ने जस्ता काममा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

ओपनएआईले व्यवसाय तथा कम्पनीका लागि विशेष काममा प्रयोग हुने डट्ससमेत तयार गरिरहेको जनाएको छ । यस्ता प्रणालीले बीजक व्यवस्थापन, ग्राहक सहायता तथा खरिद व्यवस्थापनजस्ता काम सम्हाल्नेछन् ।

समयसँगै परिवर्तन भइरहने कामलाई समेत डट्सले व्यवस्थापन गर्न सक्ने कम्पनीको दाबी छ । यसले ग्राहकका बदलिँदा आवश्यकतामाथि निगरानी राख्ने, प्रस्ताव अद्यावधिक गर्ने तथा कुनै काममा मानवीय हस्तक्षेप आवश्यक परे प्रयोगकर्तालाई जानकारी गराउनेछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।