चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

च

चितवन । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणमा परी बेपत्ता भएका स्थानीय ४६ वर्षीय भीम महतोको शव चितवन राष्ट्रिय निकुञ्जभित्र फेला परेको हो ।

गत सोमबार दिउँसो करिब २ बजे निउरो टिप्न गएका चार जनामध्ये महतोलाई बेथरी खोलानजिक बाघले आक्रमण गरी लगेको थियो। उनीसँगै गएका साथीहरूले सोही दिन साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगरमा घटनाबारे जानकारी गराएका थिए ।

घटनाको जानकारी पाएपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी र वनका कर्मचारीको संयुक्त टोलीले खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा मंगलबार बिहान १०ः५५ बजे निकुञ्जभित्र महतोको शव फेला परेको हो ।

शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।