लचिलो मौद्रिक नीतिलाई निरन्तरता, राष्ट्र बैंकद्वारा विद्यमान व्यवस्था यथावत्
नेपाल राष्ट्र बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै विद्यमान लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको छ।
राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति तथा मुद्रास्फीति लक्ष्यअनुसार नै रहने प्रक्षेपणका आधारमा न्यून आर्थिक वृद्धिको अवस्थालाई ध्यानमा राख्दै आर्थिक वर्षको सुरुदेखि अवलम्बन गरिएको नीतिगत कार्यदिशालाई निरन्तरता दिइएको जनाएको हो।
समीक्षाअनुसार ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ब्याजदर करिडोरसँग सम्बन्धित स्थायी निक्षेप सुविधा व्यवस्थाको पुनरावलोकन गरिने पनि उल्लेख गरेको छ।
राष्ट्र बैंकका अनुसार वर्तमान आर्थिक अवस्था, मुद्रास्फीति नियन्त्रण तथा विदेशी विनिमय सञ्चितिको सन्तुलनलाई ध्यानमा राख्दै मौद्रिक नीतिमा स्थायित्व कायम राखिएको हो।
