काठमाडौँ । अमेरिकाबाट कागजातको आवरणमा कुरियरमार्फत पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
ब्युरोका अनुसार कात्तिक १० गते कुरियरमार्फत अमेरिकाबाट ल्याइएको गाँजा नियन्त्रित सुपुर्दगी विधिबाट बरामद गरिएको थियो । कागजातको आवरणमा गाँजा ल्याइएको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवर्सिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्। प्रहरीका अनुसार भवर्सिंहको ठेगाना आनन्द फ्ल्याट, भेजलपुर, अहमदाबाद र पटेलको ठेगाना अर्किड एप्पलवुड्स टाउनसिप, अहमदाबाद–३८००५८ रहेको छ ।
प्रहरीले उनीहरूबाट १ किलो ३३८ ग्राम गाँजा र दुई थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप आवश्यक अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

