सरकारको कार्यशैलीप्रति महन्थ ठाकुरको आलोचनाः सुशासन र लगानीको वातावरणमाथि प्रश्न

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । 
सङ्घीय संसद्को बैठकमा बोल्दै अध्यक्ष ठाकुरले सरकारले जनआन्दोलनको मर्म विपरीत कार्य गरिरहेको आरोप लगाउनुभएको हो । अध्यक्ष ठाकुरले सुकुम्बासीहरूका विरुद्ध डोजर चलाउने कार्यलाई सरकारले ‘सुशासन’ को संज्ञा दिएको भन्दै आपत्ति जनाउनु भयो । भ्रष्टाचारका सम्बन्धमा टिप्पणी गर्दै ठाकुरले सरकारी कोषको दुरुपयोग हुनु भ्रष्टाचार भएपनि सेवाग्राहीले खुसी भएर दिने ‘उपहार’ लाई सोही दृष्टिले हेर्न नहुने तर्क गर्नुभयो । सम्पती शुद्धीकरणका नाममा सरकारले त्रसित बनाउने काम गरेको भन्दै उहाँले प्रधानमन्त्रीको कार्यशैली र व्यवहारमाथि समेत व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो । अध्यक्ष ठाकुरले निजी क्षेत्र र विशेषगरी मारवाडी समुदायमाथि राज्यले गरिरहेको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभयो । मारवाडी समाजले शिक्षा, स्वास्थ्य र उद्यमशीलतामा ठूलो योगदान पु¥याएको चर्चा गर्दै उहाँले व्यवसायीहरूलाई त्रसित बनाएर लगानीको वातावरण बन्न नसक्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘जनआन्दोलनका मुख्य विषय कुशासन र भ्रष्टाचारको अन्त्य थियो, तर अहिले सुकुम्बासीहरूमाथि डोजर चलाइएको छ। के यसैलाई सुशासन भन्ने हो ? एकातिर अर्थमन्त्री स्वदेशी र विदेशी पुँजी आह्वान गरिरहनुभएको छ, अर्कोतिर स्वदेशी व्यवसायीहरू त्रसित भएर देश छोड्दै छन् । स्वदेशी पुँजी पलायन हुने र व्यवसायी जेल जाने अवस्था रहेसम्म मुलुकमा लगानी र विकास सम्भव छैन ।’
मुलुकमा ‘न्यायिक आतङ्क’ व्याप्त रहेको दाबी गर्दै उहाँले वर्तमान संविधानका कतिपय मस्यौदामा सुधारको आवश्यकता रहेको औँल्याउनुभयो। आफ्ना साथीहरू लामो समयदेखि संविधानको सुधारका लागि प्रयासरत रहेको स्मरण गराउँदै उहाँले राज्यको पछिल्लो चरित्रले लोकतन्त्र र कानुनी शासनमाथि चुनौती थपेको उल्लेख गर्नुभयो ।

About the author

Jayanti Shiwakoti

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।