सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गर्‍यो, नागरिकता बाँड्नु मात्र डेलिभरी होइनः रामकुमारी झाँक्री

स

नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाउनुभएको छ । 


राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरिरहेको भन्दै पहिले सनेर त्यसपछि मात्र थुन्न आग्रह गर्नुभयो । उहाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै पुरानै कार्यक्रमहरुको निरन्तरता भएको टिप्पणी पनि गर्नुभयो । उहाँले जनताले दिएको ठूलो जनमतको अवसरलाई सरकारले उपयोग गर्न नसकेको पनि बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरा हो । यसमा बुँदा घटाइएको छ । पुरानै कार्यक्रमहरु दोहो¥याएर खाँदेर लेखिएको छ । त्यसकारण यसमा कुनै कमेन्ट गरिरहनुपरेन । यति ठुलो जनमत पाएर आएको पार्टीले एकपटक सबै क्षेत्रमा डिपार्चर गर्ने मौका चाँही थियो । त्यो मौका नेपालको राजनीतिक इतिहासमा सबै पार्टीलाई जनताले एक न एक पटक दिएका छन् । तर हरेक पटक नेपाली जनताको परिवर्तन र रुपन्तरणको चाहाना परम्परागत कुराबाट कुण्ठित हुने कुरा देखिने भयो । यो नीति तथा कार्यक्रममा पनि यही कुरा देखिन्छ । यहाँ त निजी क्षेत्रलाई पहिले थुन्न अनि सुन्ने काम भएको छ । अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ । यो काम गरिरहँदा उहाँहरुले कहाँ जान्छौँ भन्ने समेत थाहा पाउनुभएको छैन । यसले नयाँ बाटो दिँदैन ।’


उहाँले सरकारले सुशासन र डेलिभरीमा जोड दिएको भन्दै नागरिक, राहदानी र जग्गाधनी पूर्जा बाढ्नु मात्रै डेलिभरी नहुने बताउनुभयो । सबै वर्ग र समुदायको मानव अधिकार र मौलिक हकको सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।

About the author

Jayanti Shiwakoti

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।