मुम्बई, १४ असोज। विद्या बालनले निर्देशक आर. बाल्कीसँग एक नयाँ तमिल चलचित्रमा काम सुरु गरेको घोषणा गरेकी छिन्।
उनले इन्स्टाग्राम स्टोरीमार्फत यो जानकारी दिएकी हुन्। उनले हातमा स्क्रिप्ट लिएर बसेको तस्बिर साझा गर्दै क्याप्सनमा लेखेकी छिन्— “नयाँ सुरुवात। आर. बाल्कीसँग नयाँ तमिल चलचित्र।”
तस्बिरमा बालन हातमा स्क्रिप्ट र चस्मा लिएर बसेकी देखिन्छिन् भने उनको लामो कालो कपाल बाटिएको छ। हालसम्म यस चलचित्रको शीर्षक, कलाकार तथा निर्माणसम्बन्धी अन्य विवरण सार्वजनिक गरिएको छैन।
राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री विद्या बालन र आर. बाल्कीले यसअघि सन् २००९ मा अमिताभ बच्चन अभिनीत चलचित्र ‘पा’ (Paa) मा सँगै काम गरेका थिए। उनीहरूको आगामी तमिल चलचित्र परियोजनाले करिब १७ वर्षपछि उनीहरूलाई पुनः एकसाथ ल्याउँदै छ र ‘पा’ पछि यो उनीहरूको पहिलो सहकार्य हो। यस चलचित्रमा अभिषेक बच्चन र परेश रावलको पनि मुख्य भूमिका रहनेछ।
आर. बाल्की एक प्रख्यात चलचित्र निर्माता तथा लेखक हुन्, जो ‘घुमर’ , ‘प्याड म्यान’ , ‘चुप’ ‘की एण्ड का’ र ‘मिसन मंगल’ जस्ता चलचित्रहरूका लागि परिचित छन्। उनको सन् २००९ को चलचित्र ‘पा’ ले हिन्दी भाषाको उत्कृष्ट फिचर फिल्मका लागि राष्ट्रिय चलचित्र पुरस्कारसमेत जितेको थियो।
कामको कुरा गर्दा, विद्या बालनलाई पछिल्लो पटक रितेश देशमुखको ऐतिहासिक ड्रामा ‘राजा शिवाजी’ मा देखिएको थियो, जसमा उनले ‘बडी बेगम’ को भूमिका निभाएकी थिइन्। उनी अब रजनीकान्तको बहुप्रतिक्षित परियोजना ‘जेलर २’ मा देखिनेछिन्। यो चलचित्र १५ अक्टोबर २०२६ मा हलहरूमा रिलिज हुने तय भएको छ। यस चलचित्रको निर्माण कम्पनी ‘सन पिक्चर्स’ ले आइतबार विद्या बालनको पात्र ‘कान्था’ को पहिलो झलक सार्वजनिक गरेको छ। घोषणासँगै, उनीहरूले उक्त पात्रलाई “धैर्य र दृढताको प्रतिमूर्ति” भन्दै नाम पनि सार्वजनिक गरेका छन्।
‘जेलर २’ को लेखन तथा निर्देशन नेल्सन दिलीपकुमारले गरेका हुन् र यसमा शिव राजकुमार, विजय सेतुपति, मिथुन चक्रवर्ती, एस. जे. सूर्या, राम्या कृष्णन र योगी बाबुको पनि मुख्य भूमिका रहेको छ। यसबाहेक, विद्या बालनको आगामी चलचित्रको सूचीमा अक्षय कुमार र अनिस बज्मीसँगको अर्को परियोजना पनि छ। यस चलचित्रको छायांकन केरलामा सुरु भइसकेको छ। विद्या र अक्षयले यसअघि ‘हे बेबी’ , ‘भूल भुलैया’ र ‘मिसन मंगल’ जस्ता चलचित्रहरूमा सँगै काम गरिसकेका छन्।

