चोलेन्द्रशमशेर पक्राउ र रिहाइ घटनाले तात्यो प्रतिनिधिसभा बैठक, कसले के भने ?

च

न्युज कारखाना

काठमाडौं, १२ असोज । प्रतिनिधिसभाको सोमबारको बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइको विषयले प्रवेश पाएको छ।

एमाले प्रमुख सचेतक ऐन महरले सरकारले पूर्वप्रधानन्यायधीश जबरालाई मध्यरातमा गुण्डागर्दी शैलीमा पक्राउ गरिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा उनले राज्य आतंकको बर्बर नमुना प्रस्तुत गरेको आरोप लगाए ।

‘बिनाकसुर, बिनाअभियोग पक्राउ गरिएको छ । हामी भन्न चाहन्छौँ कानुनभन्दा र प्रश्नभन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन,’ उनले भने । महरले विरोध गरेको आधारमा नै सरकारले हुर्मत लिने काम गरिरहेको टिप्पणी गरे । पूर्वप्रधानन्याधीशलाई थ्रेट दिनेलाई छोडेर उनलाई पक्राउ गरिएकोमा महरले आपत्ति जनाए ।

नेकपाका प्रमुख सचेतक युवराज दुललाले जबरा पक्राउबारे सरकारलाई प्रश्नैप्रश्न गरेका छन् । उनले बिनापक्राउ पुर्जी, बिनाकारण पक्राउ गरेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त देखाएको बताए ।

दुलालले देश कानुनी बाटोमा हिँड्दैछ कि अराजकतको बाटोमा भन्ने प्रश्नको जवाफ मागे । उनले सुरक्षा थ्रेट दिनेलाई गिरफ्तार गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई भन्ने प्रश्न गरे । ‘यो दादागिरीको अन्त्य हुनुपर्छ । के गरेपछि यस्तो बहुलठ्ठीपूर्ण पागलपन आउँछ ? यो देश हाम्रो पनि हो । सदासदाको पेवाजस्तो सरकार चलाउन पाइँदैन’, दुलालले भने ।

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको विरोध गर्दै सरकारको जवाफ मागे । पछिल्लो समय भइरहेका पक्राउ र रिहाइको शैलीप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे ।

घटनाको गम्भीरतालाई नजरअन्दाज गर्दै हचुवाका भरमा पक्राउ गर्ने र भोलिपल्टै छोड्ने सरकारी कार्यशैली अनुपयुक्त भएको उनको भनाइ छ । ‘विषय कति गम्भीर हो भन्ने कुराको ख्याल गरेर मात्रै पक्राउ गरिनुपर्छ । पक्राउ गर्ने र भोलिपल्टै छोड्ने काम कत्तिको उपयुक्त हो ?’ सांसद राईको प्रश्न गरे ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।