जेनजी आन्दोलनमा ध्वस्त टंगालको भाटभटेनी सुपरस्टोर आजदेखि पुन: सञ्चालन

न्युज कारखाना

काठमाडौं, ५ असोज । गत वर्ष भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी ध्वस्त बनाइएको टंगालस्थित भाटभटेनी सुपरस्टोर सोमबारदेखि पुन: सञ्चालनमा आएको छ।

भाटभटेनीले सोमबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए।

भाटभटेनीले आगजनीले  पूर्णरुपमा जलेको कोटेश्वरस्थित स्टोर पाँच महिनामा नै सञ्चालनमा ल्याएको थियो। क्रमिक रूपमा विस्तारै जलेका भवन ठड्याउँदै एकपछि अर्को गरी अहिलेसम्म आगजनीले ध्वस्त भएका १२ मध्ये १० वटा स्टोर पुन: सञ्चालनमा ल्याइसकेको छ। 

बाँकी रहेका दुईवटा स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेकाले छिट्टै पुन:सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ।

दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी छ। पुनर्निर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई समेत ध्यानमा राखिएको भाटभटेनीले जनाएको छ।

टंगालको भाटभटेनी पुन: सञ्चालनमै आएको दिन सोमबार सञ्चालक मिनबहादुर गुरुङ पनि सार्वजनिक भएका छन् । उनी लामो समयदेखि बेड रेस्टमा थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उनी बाहिर निस्केका थिएनन् । गुरुङले टंगालको भाटभटेनीबाटै देशभर सुपरस्टोर सुरु गरेका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।