काठमाडौं । जापानमा जारी एसियाली खेलकुदमा नेपालले करातेबाट कम्तिमा पनि दुई पदक पक्का गरेको छ । कराँतेको
कुमिते पुरुष ६० केजीमा मीनबहादुर तामाङ र ५५ केजीमा राकेश मानन्धरले सेमिफाइनलको यात्रा तय गरेसँगै नेपालको पदक पक्का भएको हो ।
आइतबार मीनले क्वार्टरफाइनलमा ताजकिस्ताका मुहम्मद मिर्जोजोदालाई २–० ले पराजित गरे । यसअघि उनले हङकङका का हिम चाउलाई ४–१ ले हराएका थिए ।
सेमिफाइनलमा मीनबहादुरले आजै कुवेतका अब्दुल्लाह शाबानसँग प्रतिस्पर्धा गर्नेछन् । यता, सिधै क्वार्टरफाइनल खेलेका राकेशले थाइल्यान्डका नट्ठाकृत इन्ग्लोयलाई ९–० ले पराजित गरेका थिए भने अब सेमिफाइनलमा आजै राकेशले उज्वेकिस्तानका खुमोयुनमिर्जो खलिमोभसँग प्रतिष्पर्धा गर्ने छन् ।
करातेमा सेमिफाइनलमा पराजित हुने खेलाडीलाई पनि कांस्य पदक दिइने हुनाले नेपालले कम्तिमा दुई काश्य पदक पक्का गरेको छ ।

